पोखरामा अनलाईन किनमेलसेवा
पोखरा, असार
अब पोखरामा पनि घरमै बसीबसी वा विदेशबाट समेत सामान किनमेल गर्न सकिने अनलाईन सेवाको शुभारम्भ भएको छ । देशभित्र र विदेशबाट पोखरामा ख्याती प्राप्त डिपार्टमेन्टल स्टोरबाट सामानहरु किनमेल गर्न सकिने गरी अनलाईन सपिङ साईट सुरु गरिएको छ । ‘पोखरा बजार डट कम’ नाम दिइएको सो वेवसाइटबाट घरमै बसेर बजारकै मुल्यमा उपभोग्य सामानहरु किनमेल गर्न सकिने छ । मानिसहरुमा बढ्दो व्यस्तता र कम समयको सदुपयोग हुनेगरी ई–कर्मर्सको अवधारणा अनुरुप सो सेवा सुरु गरिएको वेवसाइटका संचालक तथा प्रवन्धक नरेश श्रेष्ठले जानकारी दिए । शुलभ मूल्यमा घरसम्मै पुगी सेवा दिने अभिप्रायले वेवसाइट सञ्चालनमा ल्याइएको उनले बताए । यो वेवसाइटमा गएर दैनिक जीवनमा आवश्यक, घरघरायसी सामानहरुदेखी लिएर कम्प्युटर, टिभी, मोवाइल लगाएतका इलेक्ट्रोनिक्स सामानहरुका साथै सेक्सटोयहरु समेत किन्न सकिन्छ । सामान किन्न इच्छुक ग्राहकले यो साईटमा गएर एकपटक दर्ता भएर आफ्नो विवरण भर्नुपर्छ । सामान छानेर अर्डर गरेपछि क्रेताके घरसम्मै सामान पु¥याउने व्यवस्था मिलाइएको श्रेष्ठले बताए । आफुलाई आवश्यक सामान छानिसकेपछि पे–पेल र ई–सेवा मार्फत क्रेडिट कार्डबाट भुक्तानी गर्न सकिने छ साथै छिट्टै नै रिचार्ज कार्डबाट पनि सामान किन्न सकिने गरी सेवा थप गरिने उनले बताए । विदेशमा रहेका नेपालीहरुले पोखरामा र अन्य शहरमा रहेका आफ्ना परिवार वा आफन्तलाई सामान किनिदिन समेत सक्दछन् विषेश पर्वहरुमा आफ्ना आफन्तहरुलाई गिफ्ट पठाउन समेत सकिने उनले जानाकरी दिए । अर्डर गरिएकोे सामान पोखरा भित्र १२ घण्टा र पोखरा भन्दा बाहिर २४ घण्टा भित्र व्यक्तिको घरमा पुगिसक्ने र पोखराका डिमार्टमेन्टल स्टोर्सहरुले जुन मुल्यमा उपलब्ध गराउछन त्यसमा अन्य थप सेवा शुल्क नलिई सेवा प्रदान गरिने उनले बताए । दश हजार रुपैया भन्दा बढी मूल्यको किनमेल गर्दा थप शुल्क नलिई सम्बन्धित व्यक्तिलाई सेवा दिइन र दश हजार भन्दा कम मूल्यको सामान किन्दा भने डेलिभरी चार्ज स्वरुप पोखरा बजार भित्र एकसय रुपैया र पोखरा भन्दा बाहिरका शहरमा पाँचसय रुपैयाँ लाग्ने बताइएको छ । दिती नेटवर्क पोखराको प्राविधिक सहयोगमा निर्माण गरिएको वेवसाइट तीन महिना देखि परीक्षणका रुपमा सञ्चालन भईरहेको थियो । यसले व्यस्त व्यक्तिहरुलाई सपिङ जानुपर्ने समय वचत गर्नुका साथै गुणस्तरिय सामान आफ्नै घरमै बसीबसी किन्न चाहने पोखरेलीहरुको इच्छालाई अवश्य पुरा गर्नेछ ।





